थेसलोनिकीहरूलाई पावलको पहिलो पत्र  
 1
 1 पावल, सिलास र तिमोथीबाट थेसलोनिकीहरूको मण्डलीलाई परमेश्वर पिता र प्रभु येशू ख्रीष्टमा अनुग्रह र शान्ति ।  2 तिमीहरू सबैका लागि हामी परमेश्वर पितालाई धन्यवाद चढाउछौँ र हाम्रो प्रार्थनामा तिमीहरूलाई याद गर्दछौँ ।  3 हामी निरन्तर रूपमा तिमीहरूको विश्वासको काम, प्रेमको परिश्रम र आत्मविश्वासको धैर्यलाई सम्झना गर्दछौँ जुन परमेश्वर पिताको सामु हाम्रा प्रभु येशू ख्रीष्टमा भएको भविष्यको कारणले गर्दा हो ।  4 परमेश्वरबाट प्रेम पाएका भाइहरूलाई, तिमीहरूको बोलावट हामीलाई थाहा छ ।  5 हाम्रो सुसमाचार तिमीहरूकहाँ कसरी आयो, वचनमा मात्र होइन, तर शक्तिमा, पवित्र आत्मामा, र धेरै निश्चयतामा । तिमीहरूका खातिर हामी कस्ता मानिसहरू हौँ, सो तिमीहरूलाई थाहा छ ।  6 तिमीहरू हाम्रो र प्रभुको देखासिकी गर्नेहरू भयौ जसरी तिमीहरूले कष्टमा वचन पायौ र आनन्द र पवित्र आत्मामा ग्रहण गर्यौ ।  7 त्यसैले, तिमीहरू सबै माकेडोनिया र अखैयामा विश्वास गर्नेहरू सबैका बिचमा उदाहरण भयौ ।  8 तिमीहरूबाट परमेश्वरको वचन माकेडोनिया र अखैयामा मात्र प्रचार भएको होइन, तर तिमीहरूको विश्वास हरेक ठाउँमा फैलिएको छ । त्यसैले, हामीलाई केही भन्नु आवश्यक छैन ।  9 हाम्रो विषयमा तिनीहरू आफैले भन्दछन्, कि हामीलाई तिमीहरूले कस्तो प्रकारले स्वीकार गरेका थियौ र कसरी तिमीहरू मूर्तिपूजा गर्न छोडेर जीवित र साँचो परमेश्वरको सेवा गर्न फर्क्यौ ।  10 र उहाँका पुत्र आकाशमा आउने समयलाई पर्खिराखेका छौ, जसलाई उहाँले मृतकबाट जीवित पार्नुभयो । उहाँ येशू हुनुहुन्छ जसले हामीलाई आउने वाला क्रोधबाट छुटकारा दिनुहुन्छ ।