18
 1 हे परमप्रभु, मेरो बल, म तपाईंलाई प्रेम गर्छु ।  2 परमप्रभु मेरो चट्टान, मेरो किल्ला हुनुहुन्छ, जसले मलाई सुरक्षामा लानुहुन्छ । उहाँ मेरो परमेश्वर, मेरो चट्टाना हुनुहुन्छ । उहाँमा नै म शरण लिन्छु । उहाँ मेरो ढाल, मेरो उद्धारको सिङ् र मेरो किल्ला हुनुहुन्छ ।  3 म परमप्रभुलाई पुकारा गर्छु जो प्रशंसायोग्य हुनुहुन्छ र म आफ्ना शत्रुहरूबाट बाँच्नेछु ।  4 मृत्युका डोरीहरूले मलाई बाँधे र व्यर्थका छालहरूले मलाई व्याकुल बनाए ।  5 चिहानका डोरीहरूले मलाई बाँधे । मृत्युको पासोले मलाई समात्यो ।  6 मेरो कष्टमा, मैले परमप्रभुमा पुकारा गरें । मैले सहायताको निम्ति मेरो परमेश्वरमा पुकारा गरें । उहाँले आफ्नो मन्दिरबाट मेरो सोर सुन्नुभयो । सहायताको निम्ति मेरो पुकारा उहाँको उपस्थितिमा गयो । यो उहाँको कानहरूभित्र गयो ।  7 तब पृथ्वी हल्लियो र काम्यो । पहाडहरूका जगहरू पनि कामे र हल्लिए किनभने परमेश्वर रिसाउनुभयो ।  8 उहाँको नाकका प्वालहरूबाट धूँवा माथि गयो र उहाँको मुखबाट बल्दो आगो निस्केर आयो । यसले कोइलाहरू बाल्यो ।  9 उहाँले स्वर्ग खोल्नुभयो, र तल आउनुभयो र उहाँको पाउमुनि बाक्लो अध्याँरो थियो ।  10 उहाँ करूबमा चढ्नुभयो र उड्नुभयो । हावाको पखेटाहरूमा उहाँ सवार हुनुभयो ।  11 अन्धकार र आकाशको बाक्लो बादललाई उहाँले आफ्नो वरिपरिको पाल बनाउनुभयो ।  12 उहाँको सामु बिजुलीबाट असिना र आगोका भुङ्ग्रोहरू झरे ।  13 परमप्रभु स्वर्गबाट गर्जनुभयो । सर्वोच्चको आवाजले कराउनुयो ।  14 उहाँले आफ्ना वाणहरू प्रहार गर्नुभयो र आफ्ना शत्रुहरूलाई तितरबितर पार्नुभयो । धेरै चट्याङहरूले तिनीहरूलाई तितरबितर पारे ।  15 तब पानीका धारहरू देखा परे । हे परमप्रभु, तपाईंको हप्की र तपाईंको नाकको प्वालहरूका सासको विष्फोटले संसारका जगहरू उदाङ्गो पारिए ।  16 उहाँले माथिबाट हात पसार्नुभयो । उहाँले मलाई समात्नुभयो । उहाँले मलाई उर्लंदो पानीबाट बाहिर निकाल्नुभयो ।  17 मेरो बलियो शत्रुबाट, मलाई घृणा गर्नेहरूबाट उहाँले मलाई बचाउनुभयो, किनकि तिनीहरू मेरो निम्ति अति बलिया थिए ।  18 मेरो कष्टको दिनमा तिनीहरू मेरो विरुद्ध आए तर परमप्रभु नै मेरो सहारा हुनुभयो ।  19 उहाँले मलाई फराकिलो ठाउँमा स्वतन्त्र राख्नुभयो । उहाँले मलाई बचाउनुभयो किनभने उहाँ मसँग खुसी हुनुभयो ।  20 मेरो धार्मिकताको कारणले परमप्रभुले मलाई इनाम दिनुभएको छ । उहाँले मलाई पुनर्स्थापना गर्नुभएको छ किनभने मेरा हातहरू शुद्ध थिए ।  21 किनकि मैले परमप्रभुका मार्गहरू मैले पालन गरेको छु र मेरो परमेश्वरबाट दुष्टतासाथ फर्केको छैन ।  22 किनकि उहाँका सबै धार्मिक आदेशहरू मेरो सामु छन् । उहाँको नियमहरूको बारेमा, तिबाट म भड्केको छैन ।  23 उहाँको सामु म निर्दोष भएको छु र मैले आफूलाई पापबाट अलग राखेको छु ।  24 यसकारण मेरो धार्मिकताको कारणले परमप्रभुले मलाई पुनर्स्थापना गर्नुभएको छ, किनभने मेरा हातहरू उहाँको आँखाका समु शुद्ध थिए ।  25 कुनै पनि विश्वासीलाई तपाईं आफै विश्वासयोग्य प्रकट गर्नुहुन्छ । निर्दोष मानिसलाई तपाईं आफै निर्दोष प्रकट गर्नुहुन्छ ।  26 कुनै पनि शुद्ध व्यक्तिलाई तपाईं आफै शुद्ध प्रकट गर्नुहुन्छ । तर कुनै पनि बाङ्गो व्यक्तिलाई तपाईं आफै चलाख प्रकट गर्नुहुन्छ ।  27 किनकि तपाईंले कष्टमा परेकाहरूलाई बचाउनुहुन्छ तर घमण्डी, अहङ्कारी आँखालाई तपाईंले तल झार्नुहुन्छ ।  28 तपाईंले मेरो बत्तिलाई प्रकाश दिनुहुन्छ । परमप्रभु मेरा परमेश्वरले मेरो अन्धकारलाई उज्यालो पार्नुहुन्छ ।  29 किनकि तपाईंद्वारा नै म बाधालाई नाघ्न सक्छु । मेरा परमेश्वरद्वारा नै म पर्खाल नाध्न सक्छु ।  30 परमेश्वरको बारेमा, उहाँको मार्ग सिद्ध छ । परमप्रभुको वचन शुद्ध छ । उहाँमा शरण लिने हरेकको निम्ति उहाँ ढाल हुनुहुन्छ ।  31 किनकि परमप्रभुबाहेक को परमेश्वर छ र? हाम्रा परमेश्वरबाहेक को चट्टान छ र?  32 कम्मर पेटीझैं परमेश्वरले नै मलाई बल दिनुहुन्छ, जसले निर्दोष व्यक्तिलाई आफ्नो मार्गमा राख्नुहुन्छ ।  33 उहाँले मेरा खुट्टाहरूलाई हरिणको जस्तै तेज बनाउनुहुन्छ र मलाई उच्च ठाउँहरूमा राख्नुहुन्छ ।  34 युद्धको निम्ति उहाँले मेरा हातहरूलाई तालिम दिनुहुन्छ र मेरा पाखुराहरूले काँसाको धनु झुकाउँछन् ।  35 तपाईंले मलाई आफ्नो उद्धारको ढाल दिनुभएको छ । तपाईंको दाहिने हातले मलाई सहायता गरेको छ र तपाईंको कृपाले मलाई महान् बनाएको छ ।  36 तपाईंले मेरो तल मेरो खुट्टाहरूलाई ठाउँ फराकिलो पार्नुभएको छ ताकि मेरा खुट्टाहरू चिप्लेका छैनन् ।  37 मैले आफ्ना शत्रुहरूलाई खेदें र तिनीहरूलाई समातें । तिनीहरू नाश नभएसम्म म फर्किनँ ।  38 मैले तिनीहरूलाई टुक्रा-टुक्रा पारें ताकि तिनीहरू उठ्न सकेनन् । तिनीहरू मेरा खुट्टाहरूमुनि ढलेका छन् ।  39 किनकि युद्धको निम्ति कम्मर पेटीझैं तपाईंले मलाई बल दिनुभयो । मेरो विरुद्ध उठ्नेहरूलाई तपाईंले मेरो अधीनमा पार्नुभयो ।  40 मेरा शत्रुहरूका गर्दन तपाईंले मलाई दिनुभयो । मलाई घृणा गर्नेहरूलाई मैले निर्मूल पारें ।  41 तिनीहरूले सहायताको निम्ति पुकारा गरे, तर कसैले तिनीहरूलाई बचाएन । तिनीहरूले परमप्रभुलाई पुकारा गरे, तर उहाँले तिनीहरूलाई जवाफ दिनुभएन ।  42 हावाको सामु धूलोझैं मैले तिनीहरूलाई चकनाचूर पारें । गल्लीमा हिलोझैं मैले तिनीहरूलाई फालें ।  43 मानिसहरूका विवादबाट तपाईंले मलाई बचाउनुभयो । तपाईंले मलाई जातिहरूमाथि शिर तुल्याउनुभएको छ । मैले नचिनेका मानिसहरूले मेरो सेवा गर्छन् ।  44 तिनीहरूले मेरा कुरा सुन्ने बित्तिकै, तिनीहरूले मेरा आज्ञा पालन गरे । विदेशीहरू मेरो सामु झुक्न बाध्य भए ।  45 विदेशीहरू आफ्ना किल्लाहरूबाट थरथर कम्दै बाहिर आए ।  46 परमप्रभु जीवित हुनुहुन्छ । मेरो चट्टानको प्रशंसा होस् । मेरो उद्धारका परमेश्वरलाई उच्च पारियोस् ।  47 मेरो निम्ति बदला लिनुहुने परमेश्वर उहाँ नै हुनुहुन्छ, जसले जातिहरूलाई मेरो वशमा पार्नुहुन्छ ।  48 मेरा शत्रहरूबाट म मुक्त पारिएको छु । वास्तवमा, मेरो विरुद्ध उठ्नेहरूभन्दा माथि तपाईंले मलाई उठाउनुभयो । हिंस्रक मानिसहरूबाट तपाईंले मलाई बचाउनुभयो ।  49 यसकारण, हे परमप्रभु, म तपाईंलाई जातिहरूको माझमा धन्यवाद दिनेछु । तपाईंको नाउँमा प्रशंसा म गाउनेछु ।  50 परमेश्वरले आफ्नो राजालाई महान् विजय दिनुहुन्छ र उहाँले आफ्नो करारको विश्वस्तता आफ्नो अभिषिक्त जन, दाऊद र तिनका सन्तानहरूलाई सदासर्वदा प्रकट गर्नुहुन्छ ।