1आदमका सन्तानहरूका विवरण यही हो । परमेश्वरले मानिसलाई सृष्टि गर्नुहुँदा उहाँले तिनलाई आफ्नै स्वरूपमा सृष्टि गर्नुभयो । 2उहाँले तिनीहरूलाई नर र नारी सृष्टि गर्नुभयो । उहाँले तिनीहरूलाई सृष्टि गर्नु हुँदा, तिनीहरूलाई आशिष् दिनुभयो र तिनीहरूलाई मानवजाति नाउँ दिनुभयो । 3आदम १३० वर्षको हुँदा तिनी आफ्नै स्वरूपमा जन्मेका छोरोको बुबा भए, र तिनले उनको नाउँ शेत राखे । 4आदम शेतको बुबा भएपछि, तिनी आठ सय वर्ष बाँचे । तिनी अझ अरू धेरै छोराहरू र छोरीहरूका बुबा भए । 5आदम ९३० वर्ष बाँचे अनि तिनी मरे । 6शेत १०५ वर्षको हुँदा तिनी एनोशको बुबा भए । 7तिनी एनोशको बुबा भएपछि, तिनी ८०७ वर्ष बाँचे र अरू धेरै छोराहरू र छोरीहरूका बुबा भए । 8शेत ९१२ वर्ष बाँचे र तिनी मरे । 9एनोश ९० वर्षको हुँदा, तिनी केनानका बुबा भए । 10तिनी केनानको बुबा भएपछि, एनोश ८१५ वर्ष बाँचे । तिनी अरू धेरै छोराहरू र छोरीहरूका बुबा भए । 11एनोश ९०५ वर्ष बाँचे र तिनी मरे । 12केनान ७० वर्षको हुँदा, तिनी महलालेलको बुबा भए । 13तिनी महलालेलका बुबा भएपछि, केनान ८४० वर्ष बाँचे । तिनी अरू धेरै छोराहरू र छोरीहरूका बुबा भए । 14केनान ९१० वर्ष बाँचे र तिनी मरे । 15महलालेल ६५ वर्षको हुँदा, तिनी येरेदको बुबा भए । 16तिनी येरेदका बुबा भएपछि, तिनी ८३० वर्ष बाँचे । तिनी अरू धेरै छोराहरू र छोरीहरूका बुबा भए । 17महलालेल ८९५ वर्ष बाँचे र तिनी मरे । 18येरेद १६२ वर्षको हुँदा, तिनी हनोकका बुबा भए । 19तिनी हनोकको बुबा भएपछि येरेद ८०० वर्ष बाँचे । तिनी अरू धेरै छोराहरू र छोरीहरूका बुबा भए । 20येरेद ९६२ बाँचे र तिनी मरे । 21हनोक ६५ वर्षको हुँदा, तिनी मतूशेलहको बुबा भए । 22हनोक मतूशेलहको बुबा भएपछि तिनी ३०० वर्षसम्म परमेश्वरसँगै हिँडे । 23तिनी अरू धेरै छोराहरू र छोरीहरूका बुबा भए । 24हनोक परमेश्वरसँगै हिँडे, र तिनी गए, किनकि परमेश्वरले तिनलाई लानुभयो । 25मतूशेलह १८७ वर्षको हुँदा, तिनी लेमेकको बुबा भए । 26तिनी लेमेकको बुबा भएपछि, मतूशेलह ७८२ वर्ष बाँचे । तिनी अरू धेरै छोराहरू र छोरीहरूका बुबा भए । 27मतूशेलह ९६९ वर्ष बाँचे अनि तिनी मरे । 28लेमेक १८२ वर्षको हुँदा, तिनी एउटा छोरोको बुबा भए । 29तिनले उनलाई यसो भन्दै नोआ नाउँ राखे, “यसले हामीलाई हाम्रा काम र हाम्रा हातका पिडादायी श्रमबाट विश्राम दिनेछ, जुन परमप्रभुले जमिनलाई सराप दिनुभएको कारण हामीले गर्नैपर्छ ।” 30लेमेक नोआको बुबा भएपछि ५९५ वर्ष बाँचे । तिनी अरू धेरै छोराहरू र छोरीहरूका बुबा भए । 31लेमेक ७७७ वर्ष बाँचे, अनि तिनी मरे । 32नोआ ५०० वर्ष बाँचेपछि, तिनी शेम, हाम र येपेतका बुबा भए ।