1समुद्र नजिकको मरुभूमिको बारेमा एउटा घोषणा । नेगेवमा चल्ने आँधीहुरी जस्तै मरुभूमि र डरलाग्दो देशबाट यो आउँछ । 2मलाई एउटा कष्टप्रद दर्शन दिइएको छः “धोकेबाजले धोकापुर्ण किसिमले काम गर्छ र विनाश गर्नेले विनाश गर्छ । ए एलाम, माथि जा र आक्रमण गर् । ए मादी घेरा हाल् । त्यसको सबै शोकलाई म रोक्नेछु । 3यसकारण मेरो कमर दुखेको छ । स्त्रीको प्रसव पीडाजस्तो पीडाले मलाई समातेको छ । मैले जे सुनेको छु त्यसद्वारा म झुकेको छु । मैले जे देखेको छु सोद्वारा म व्याकुल भएको छु । 4मेरो मुटु धड्कन्छ । म डरले काँप्छु । मैले साँझको इच्छा गरें, तर त्यसले ममा त्रास ल्यायो । 5तिनीहरू टेबल तयार गर्छन्, तिनीहतरू राडी ओछ्याउँछन्, अनि खान्छन् र पिउँछन् । ए शासकहरू उठ, आफ्ना ढालहरूमा तेल लगाओ । 6किनकि परमप्रभुले मलाई यसो भन्नुभयो, “जा, एक जना पहरेदार राख । उसले जे देख्छ सो बताउनुपर्छ । 7जब उसले एउटा रथ, एक जोडी घोडचढी, गधामाथि चढ्नेहरू र उँटमाथि चढ्नेहरू देख्छ, तब उसले ध्यान दिनुपर्छ र निकै सजग हुनुपर्छ ।” 8पहरेदार कराउँछ, “हे परमप्रभु, म दिनभरि, हरेक दिन पहरा बस्ने धरहरमाथि बस्छु, अनि आफ्नो अखडामा म रातभरि खडा रहन्छु ।” 9यहाँ एक जना मानिस र एक जोडी घोडचढी लिएर एउटा रथ आउँछ । उसले भन्छ, “बेबिलोनको पतन भएको छ, पतन भएको छ र यसका कुँदेका सबै देवताहरूका मूर्तीहरू जमिनमा चकनाचूर भएका छन् ।” 10ए मेरा चुटिएका र निफनिएकाहरू हो, मेरा खलाका सन्तानहरू हो! सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्वरबाट मैले जे सुनेको छु सो मैले तिमीहरूलाई घोषणा गरेको छु । 11दुमाको बारेमा एउटा घोषणा । कसैले मलाई सेइरबाट बोलाउँछ, “ए पहरेदार, रात कति बाँकी छ? ए पहरेदार, रात कति बाँकी छ?” 12पहरेदारले भन्यो, “बिहान आउँछ र रात पनि आउँछ । तिमीलाई सोध्नुछ भने सोध । अनि फेरि फेर्केर आऊ ।” 13अरब देशको बारेमा एउटा घोषणा । तिमीहरू ददानीहरूका यात्री दलहरूले अरबको मरुभूमिमा रात बिताओ । 14तिर्खाउनेहरूका निम्ति पानी ल्याओ । ए तेमा देशका बासिन्दाहरू, रोटी लिएर भगौडाहरूलाई भेट । 15किनकि तिनीहरू तरवार, थुतेको तरवाट, ताँदो चढाएको धनुबाट र युद्धको भारबाट भागेका छन् । 16किनकि परमप्रभुले मलाई यसो भन्नुभयो, “एक वर्षभित्रमा नै ज्यालामा लिइएको श्रमिकले यो देख्नेछ, केदारको सारा गौरवको अन्त हुनेछ । 17केदारका धनुर्धारी अर्थात् योद्धाहरूमध्ये केही मात्र रहेनेछन्,” किनकि परमप्रभु इस्राएलका परमेश्वरले यसो भन्नुभएको छ ।