1अझै एलीहूले निरन्तर बोले, 2“हे बुद्धिमान् मानिसहरू हो, मेरा वचन सुन्नुहोस् । हे ज्ञान भएकाहरू हो, मेरा कुरा सुन्नुहोस् । 3जिब्रोले भोजनको स्वाद लिएझैं, कानले शब्दहरूलाई जाँच्ने कोसिस गर्छ । 4जे न्यायोचित छ, सो हामी आफ्नो निम्ति रोजौं । जे असल छ, सो हामी आफ्नो बिचमा खोजौं । 5किनकि अय्यूबले भनेका छन्, 'म धर्मी छु, तर परमेश्वरले मेरा अधिकारहरू हटाउनुभएको छ । 6मेरा अधिकारहरू भए पनि मलाई झुटो ठानिएको छ । म पापी नभए पनि मेरो घाउ निको हुँदैन ।' 7अय्यूब कस्ता मानिस हुन्, जसले गिल्लालाई पनि पानीझैं पिउँछन्, 8जो दुष्ट काम गर्नेहरूको सङ्गतमा जान्छन्, र जो दुष्ट मानिसहरूसितै हिंड्छन् । 9किनकि तिनले भनेका छन्, 'परमेश्वरले जे इच्छा गर्नुहुन्छ त्यो गर्नमा मानिसलाई कुनै रमाहट हुँदैन ।' 10त्यसैले हे सुझबुझ भएका मानिसहरू हो, मेरो कुरा सुन्नुहोस् । परमेश्वरले कदापि दुष्ट काम गर्नुहुन्न । सर्वशक्तिमान्ले कदापि पाप गर्नुहुन्न । 11किनकि उहाँले व्यक्तिको कामअनुसारको प्रतिफल दिनुहुन्छ । उहाँले हरेक मानिसलाई उसका आफ्नै चालअनुसारको इनाम दिनुहुन्छ । 12वास्तवमा परमेश्वरले कुनै दुष्ट काम गर्नुहुन्न, न त सर्वशक्तिमान्ले कदापि न्यायलाई बङ्ग्याउनुहुन्छ । 13कसले उहाँलाई पृथ्वीको निरीक्षक तुल्याएको हो र ? कसले सारा संसार उहाँको अधीनमा राखिदिएको हो र ? 14उहाँले आफ्ना मनसायहरू आफैमा मात्र राख्नुभएको भए, र उहाँले कहिलै आफ्ना आत्मा र सास आफैमा फर्काउनुभए, 15तब सारा प्राणी एकसाथ नष्ट हुन्थे । मानव-जाति फेरि पनि माटोमा नै फर्कन्थ्यो । 16अब तपाईंसित सुझबुझ छ भने, यो कुरा सुन्नुहोस् । मेरो वचनको आवाजलाई सुन्नुहोस् । 17के न्यायलाई घृणा गर्नेले शासन गर्न सक्छ ? के तपाईंले परमेश्वरलाई दोषी ठहराउनुहुन्छ जो धर्मी र शक्तिशाली हुनुहुन्छ ? 18परमेश्वरले राजालाई भन्नुहुन्छ, 'तँ निकम्मा होस्' वा कुलीनहरूलाई भन्नुहुन्छ, 'तिमीहरू दुष्ट हौ ।' 19परमेश्वरले अगुवाहरूको पक्ष लिनुहुन्न, र गरिबहरूलाई भन्दा बढी मान धनीहरूलाई गर्नुहुन्न, किनकि तिनीहरू सबै उहाँका हातका काम हुन् । 20एकै क्षणमा तिनीहरू मर्नेछन् । मध्यरातमा मानिसहरू हल्लिन्छन् र बितेर जान्छन् । शक्तिशाली मानिसहरू लगिन्छन्, तर मानवीय हातले होइन । 21किनकि परमेश्वरको दृष्टि मानिसको चालमा हुन्छ । उहाँले त्यसका सबै कदम हेर्नुहुन्छ । 22यस्तो कुनै अन्धकार वा बाक्लो अँध्यारो छैन, जहाँ अधर्म गर्नेहरूले आफैलाई लुकाउन सक्छन् । 23किनकि परमेश्वरले व्यक्तिको थप जाँच गर्नुपर्दैन । कुनै पनि व्यक्ति इन्साफको लागि उहाँको सामु जानु आवश्यक छैन । 24उहाँले शक्तिशाली मानिसहरूलाई तिनीहरूका चालको कारणले टुक्रा-टुक्रा पार्नुहुन्छ जसको थप अनुसन्धान आवश्यक नै हुँदैन । उहाँले तिनीहरूका ठाउँमा अरूलाई राख्नुहुन्छ । 25यसरी तिनीहरूका कामहरूका जानकारी उहाँलाई हुन्छ । उहाँले यी मानिसहरूलाई रातमा पल्टाउनुहुन्छ । तिनीहरू नष्ट हुन्छन् । 26अरूले देख्नेगरी खुला ठाउँमा, उहाँले तिनीहरूका दुष्ट कामहरूको लागि अपराधीहरूलाई झैं तिनीहरूलाई मार्नुहुन्छ, 27किनकि उहाँको अनुसरण गर्नबाट तिनीहरू तर्के, र उहाँका कुनै पनि मार्गको अनुसरण गर्न इन्कार गरे । 28यसरी गरिब मानिसहरूको रोदन उहाँको कानले सुन्ने तिनीहरूले बनाए । कष्टमा परेका मानिसहरूको रोदन उहाँले सुन्नुभयो । 29जब उहाँ चुप लाग्नुहुन्छ, तब कसले उहाँलाई दोषी ठहराउन सक्छ र ? उहाँले आफ्नो अनुहार लुकाउनुहुन्छ भने कसले उहाँलाई भेट्न सक्छ र ? उहाँले जाति र व्यक्तिमाथि समान किसिमले शासन गर्नुहुन्छ, 30जसको कारणले पापी मानिसले शासन गर्न नपाओस्, यसरी मानिसहरूलाई पासोमा पार्ने कोही नहोस् । 31मानौँ, कसैले परमेश्वरलाई भन्छ, 'म निश्चय नै दोषी छु, तर म फेरि पाप गर्नेछैनँ । 32मैले देख्न नसक्ने कुरा मलाई सिकाउनुहोस् । मैले पाप गरेको छु, तर त्यो काम म फेरि गर्नेछैनँ ।' 33तपाईंको विचारमा, परमेश्वरले गर्नुहुने कुरा तपाईंलाई मन पर्दैन भन्दैमा, के परमेश्वरले त्यो व्यक्तिको पापलाई दण्ड दिनैपर्छ र ? तपाईंले नै चुन्ने हो, मैल होइन । त्यसैले आफूले जानेका कुरा भन्नुहोस् । 34सुझबुझ भएका मानिसहरूले मलाई भन्नेछन्— वास्तवमा मेरो कुरा सुन्ने हरेक बुद्धिमान् मानिसले भन्नेछ, 35'अय्यूब ज्ञानविनै बोल्छन् । तिनका शब्दहरूमा बुद्धिका कुरा छैनन् ।' 36अय्यूबले दुष्ट मानिसहरूले झैं कुरा गरेको हुनाले, तिनको भनेका स-साना कुरा लिएर जाँच गर्न सकिए त! 37किनकि आफ्नो पापमा तिनले विद्रोह थप्छन् । हाम्रा बिचमा गिल्ला गर्दै तिनी थपडी मार्छन् । तिनी परमेश्वरको विरुद्धमा वचनको थुप्रो लगाउँछन् ।”