1हे परमप्रभु, म तपाईंलाई आफ्नो सारा हृदयले धन्यवाद दिनेछु । तपाईंका सबै अचम्मका कामहरूको वयान म गर्नेछु । 2तपाईंमा म खुसी र आनन्दित हुनेछु । हे सर्वोच्च, तपाईंको नाउँमा म स्तुति गाउनेछु । 3जब मेरा शत्रुहरू पछि हट्छन्, तब तिनीहरू तपाईंको सामु ठेस खान्छन् र विनाश हुन्छन् । 4किनकि तपाईंले मेरो न्यायोचित मामलाको रक्षा गर्नुभएको छ । हे धार्मी न्यायकर्ता, तपाईं आफ्नो सिंहासनमा बस्नुहोस्! 5जातिहरूलाई तपाईंले हप्काउनुभयो । दुष्टहरूलाई तपाईंले नाश गर्नुभएको छ । तिनीहरूका नाउँलाई तपाईंले सदासर्वदाको निम्ति मेटाउनुभएको छ । 6जब तपाईंले शत्रुहरूका सहरहरू विनाश गर्नुभयो, तब ती भग्नावशेषहरूझैं टुक्रा-टुक्रा भए । तिनीहरूका सबै सम्झना नष्ट भयो । 7तर परमप्रभु सदासर्वदा रहनुहुन्छ । न्यायको निम्ति उहाँको आफ्नो सिंहासन स्थापित गर्नुभएको छ । 8उहाँले धार्मिकतामा संसारको न्याय गर्नुहुनेछ, र उहाँले जातिहरूका न्याय निश्पक्ष रूपले गर्नुहुनेछ । 9अत्यचारमा परेकाहरूका निम्ति परमप्रभु एउटा किल्ला, कष्टको समयको एउटा शरणस्थान हुनुहुनेछ । 10तपाईंको नाउँ जान्नेहरूले तपाईंमा भरोसा गर्छन्, किनकि, हे परमप्रभु, तपाईंलाई खोज्नेहरूलाई तपाईंले त्याग्नुहुन्न । 11परमप्रभुको स्तुति गाओ, जसले सियोनमा राज्य गर्नुहुन्छ । उहाँले गर्नुभएका कुरा जातिहरूलाई भन । 12किनकि रक्तपातको बदला लिनुहुने परमेश्वरले सम्झनुहुन्छ । थिचोमिचोमा परेकाहरूका रोदनलाई उहाँले बिर्सनुहुन्न । 13हे परमप्रभु, ममाथि कृपा गर्नुहोस् । मलाई घृणा गर्नेहरूद्वारा म कति थिचोमिचोमा परेको छु सो हेर्नुहोस्, तपाईंले मलाई मृत्युको ढोकाबाट तानेर निकाल्न सक्नुहुन्छ । 14जसले गर्दा तपाईंका सारा प्रशंसा म घोषणा गर्न सकूँ । सियोनकी छोरीको ढोकाहरूमा म तपाईंको उद्धारमा आनन्दित हुनेछु । 15जातिहरू आफैले बनाएका खाल्डोमा जाकिएका छन् । तिनीहरूले लुकाएका पासोहरूमा तिनीहरूका खुट्टाहरू फसेका छन् । 16परमप्रभुले आफैलाई प्रकट गर्नुभएको छ । उहाँले न्यायको फैसला गर्नुभएको छ । दुष्टहरू आफ्नै कामहरूका पासोमा परेका छन् । सेला 17दुष्टहरू फर्काइएका र चिहानमा पठाइएका छन्, सबै जातिहरू जसले परमेश्वरलाई बिर्सिन्छन् । 18किनकि दरिद्रहरूलाई सधैं बिर्सिनेछैन, न त थिचोमिचोमा परेकाहरूका आसा सधैं चकनाचूर हुनेछैन । 19हे परमप्रभु, उठ्नुहोस् । मानिसले तपाईंलाई जित्न नपाऊन् । तपाईंको दृष्टिमा जातिहरूको न्याय गरियोस् । 20हे परमप्रभु, तिनीहरूलाई त्रसित पार्नुहोस् । तिनीहरू मानिसहरू मात्र हुन् भनी जातिहरूले जानून् । सेला