1कष्टको दिनमा परमप्रभुले तपाईंलाई सहायता गरून् । याकूबका परमेश्वरको नाउँले तपाईंको सुरक्षा देऊन् 2र तपाईंलाई सियोनबाट सहारा दिन पवित्र स्थानबाट सहायता पठाऊन् । 3उहाँले तपाईंका सबै बलिहरू सम्झना गरून् र तपाईंका बलिदान स्वीकार गरून् । सेला 4तपाईंको हृदयको इच्छा उहाँले तपाईंलाई पुरा गरिदेऊन् र तपाईंका सबै योजनाहरू पुरा होऊन् । 5अनि हामी तपाईंको विजयमा आनन्दित हुनेछौं र हाम्रा परमेश्वरको नाउँमा हामी झन्डाहरू उचाल्नेछौं । परमप्रभुले तपाईंका सबै बिन्तीहरू सुन्नुभएको होस् । 6परमप्रभुले आफ्नो अभिषिक्त जनलाई बचाउनुहुन्छ भनी म जान्दछु । उहाँलाई बचाउन सक्ने आफ्नो दाहिने हातको बलले, आफ्नो पवित्र स्वर्गबाट परमप्रभुले उहाँलाई जवाफ दिनुहुनेछ । 7कसैले रथहरूमा र अरूले घोडाहरूमा भर पर्छन् तर हामी परमप्रभु हाम्रा परमेश्वरमा पुकारा गर्छौं । 8तिनीहरू तल झारिनेछन् र ढल्नेछन्, तर हामी उठ्नेछौं र सोझो खडा हुनेछौं । 9हे परमप्रभु, राजालाई बचानुहोस् । हामीले पुकारा गर्दा हामीलाई मदत गर्नुहोस् ।