1म परमप्रभुको करारको विश्वस्तताका कामहरूका बारेमा सधैं गाउनेछु । म भावी पुस्ताहरूलाई तपाईंको सत्यता घोषणा गर्नेछु । 2किनकि मैले भनेको छु, “करारको विश्वस्तता सदाको निम्ति स्थापित गरिएको छ । तपाईंले आफ्नो सत्यता स्वर्गमा स्थापित गर्नुभएको छ ।” 3मैले आफ्नो चुनिएको जनसँग करार बाँधेको छु । मैले आफ्नो दास दाऊदसँग सपथ खाएको छु । 4म तेरा सन्तानहरूलाई सदाको निम्ति स्थापित गर्नेछु र म तेरो सिंहासन सबै पुस्ताहरूसम्म स्थापित गर्नेछु ।” सेला 5हे परमप्रभु, स्वर्गले तपाईंका आश्चर्य कामहरूका प्रशंसा गर्छ । तपाईंको सत्यताको प्रशंसा पवित्र जनहरूका सभामा गरिन्छ । 6किनकि आकाशमा हुने कोसँग परमप्रभुको तुलना गर्न सकिन्छ र? देवताहरूका छोराहरूमध्ये कोचाहिं परमप्रभुजस्तो छ र? 7उहाँ त्यस्तो परमेश्वर हुनुहुन्छ जसलाई पवित्र जनहरूका भेलामा उच्च आदर गरिन्छ र उहाँलाई घेरा हाल्ने सबैको माझमा भयानक हुनुहुन्छ । 8हे परमप्रभु सर्वशक्तिमान् परमेश्वर, हे परमप्रभु, तपाईंझैं बलियो को छ र? तपाईंको सत्यता तपाईंलाई घेरा हाल्छ । 9तपाईंले उर्लंदो समुद्रलाई वशमा पार्नुहुन्छ । जब छालहरू उर्लिन्छन्, तब तपाईंले तिनीहरूलाई शान्त पार्नुहुन्छ । 10तपाईंले राहाबलाई मारिएकालाई झैं चूर पार्नुभयो । आफ्ना शत्रुहरूलाई आफ्नो बलियो बाहुलीले तपाईंले तितरबितर पार्नुभयो । 11स्वर्ग तपाईंको र पृथ्वी पनि तपाईंकै हो । संसार र त्यसमा भएका सबै थोक तपाईंले नै बनाउनुभयो । 12तपाईंले उत्तर र दक्षिणको सृष्टि गर्नुभयो । तबोर र हेर्मोन तपाईंको नाउँमा आनन्दित हुन्छन् । 13तपाईंसँग शक्तिशाली बाहुली र बलियो हात छ र तपाईंको दाहिने हात उच्च छ । 14धार्मिकता र न्याय तपाईंको सिंहासनको जग हुन् । करारको विश्वस्तता र सत्यता तपाईंको सामुबाट आउँछन् । 15ती मानिसहरू धन्य हुन् जसले तपाईंको आराधना गर्छन्! हे परमप्रभु, तिनीहरू तपाईंको मुहारको प्रकाशमा हिंड्छन् । 16तिनीहरू तपाईंको नाउँमा दिनभरि रमाउँछन् र तपाईंको धार्मिकतामा तिनीहरूले तपाईंलाई उचाल्छन् । 17तपाईं तिनीहरूका ऐश्वर्यको बल हुनुहुन्छ र तपाईंको कृपाले हामी विजयी भएका छौं । 18किनकि हाम्रो ढाल परमप्रभुको हो । हाम्रा राजा इस्राएलका परमपवित्रका हुन् । 19धेरै अघि आफ्ना विश्वासी जनहरूसँग तपाईं बोल्नुभयो । तपाईंले भन्नुभयो, “मैले वीर मानिसलाई मुटुक लगाइदिएको छु ।” मैले मानिसहरू माझबाट चुनिएको एक जनालाई उठाएको छु । 20मैले आफ्नो सेवक दाऊदलाई चुनेको छु । मैले त्यसलाई मेरो पवित्र तेलले अभिषेक गरेको छु । 21मेरो हातले त्यसलाई सहयत दिनेछ । मेरो बाहुलीले त्यसलाई बलियो बनाउनेछ । 22कुनै पनि शत्रुले त्यसलाई छल गर्नेछैन । दुष्टताका कुनै पनि सन्तानले त्यसलाई थिचोमिचो गर्नेछैन । 23त्यसको सामु भएका शत्रुहरूलाई म चूर पार्नेछु । त्यसलाई घृणा गर्नेहरूलाई म मार्नेछु । 24मेरो सत्यता र मेरो करारको विश्वस्तता त्यससँग हुनेछ । मेरो नाउँद्वारा नै त्यो विजयी हुनेछ । 25म त्यसको हात समुद्रमाथि र त्यसको दाहिने बाहुली नदीहरूमाथि राख्नेछु । 26त्यसले मलाई पुकारा गर्नेछ, 'हे परमेश्वर, तपाईं मेरो पिता र मेरो उद्धारको चट्टान हुनुहुन्छ ।' 27मेरो जेठो छोरो, पृथ्वीका राजाहरूमध्ये सबैभन्दा उच्च पारिएको रूपमा पनि त्यसलाई म राख्नेछु । 28म आफ्नो करारको विश्वस्तता सदासर्वदा त्यसलाई दिनेछु । अनि त्यससँगको मेरो करार सुरक्षित हुनेछ । 29त्यसका सन्तानहरूलाई सदासर्वदासम्म रहने र त्यसको सिंहासन माथिको आकाश जत्तिकै रहिरहने म बनाउनेछु । 30त्यसका सन्तानहरूले मेरो व्यवस्ता त्यागे र मेरा विधिहरूमा हिंडेनन् भने, 31तिनीहरूले मेरा नियमहरू तोडे र मेरा आज्ञाहरू पालन गरेनन् भने, 32तब तिनीहरूका विद्रोहलाई लट्ठीले र तिनीहरूको अधर्मलाई आघातले म दण्ड दिनेछु । 33तर त्यसबाट आफ्नो अटल प्रेमलाई म हटाउनेछैन वा मेरो प्रतिज्ञाप्रति अविश्वासी हुनेछैन । 34म आफ्नो करार तोड्नेछैन वा मेरा ओठका शब्दहरू फेर्नेछैन । 35सदाको निम्ति एकै पटक मैले आफ्नो पवित्रताद्वारा शपथ खाएको छु, म दाऊदसित झुट बोल्नेछैनः 36त्यसका सन्तानहरू सधैं निरन्तर रहनेछन् र मेरो सामु सूर्य रहेसम्म त्यसको सिंहासन रहनेछ । 37आकाशमा विश्वासयोग्य साक्षी चन्द्रमाझैं यसलाई सदाको निम्ति स्थापित गरिनेछ ।” सेला 38तर तपाईंले इन्कार र अस्वीकार गर्नुभएको छ । आफ्नो अभिषिक्त राजासँग तपाईं रिसाउनुभएको छ । 39तपाईंले आफ्नो सेवको करार त्याग्नुभएको छ । तपाईंले त्यसको मुकुटलाई जमिनमा अपवित्र पार्नुभएको छ । 40तपाईंले त्यसका सबै पर्खालहरू भत्काउनुभएको छ । तपाईंले त्यसका सबै किल्लाहरूलाई भग्नावशेष पार्नुभएको छ । 41त्यो बाटो जाने सबैले त्यसलाई लुटेका छन् । आफ्नो छिमेकीको निम्ति त्यो घृणाको पात्र भएको छ । 42तपाईंले त्यसको शत्रुहरूको दाहिने हात उठाउनुभएको छ । त्यसका सबै शत्रुलाई तपाईंले आनन्दित बनाउनुभएको छ । 43तपाईंले त्यसको तरवारको धारलाई फर्काउनुभएको छ र युद्ध हुँदा त्यसलाई खडा पार्नुभएको छैन । 44तपाईंले त्यसको ऐस्वर्यको अन्त्य गर्नुभएको छ । तपाईंले त्यसको सिंहासनलाई तल जमिनमा ल्याउनुभएको छ । 45तपाईंले त्यसको जवानी दिनलाई छोटो पार्नुभएको छ । तपाईंले त्यसलाई लाजले ढाक्नुभएको छ । सेला 46हे परमप्रभु, कहिलेसम्म? तपाईंले सधैं आफूलाई लुकाउनुहुनेछ ? तपाईंको रिस कहिलेसम्म आगोझैं दन्किनेछ? 47मेरो आयु कति छोटो छ र तपाईंले मानवजातिका सबै सन्तानलाई कति बेकामको सृष्टि गर्नुभएको छ भनी विचार गर्नुहोस् । 48को जीवित रहनेछ र मर्दैन, वा आफ्नै जीवनलाई चिहानबाट बचाउन सक्छ र? सेला 49हे परमप्रभु, तपाईंले आफ्नो सत्यतामा दाऊदसँग शपथ खानुभएको करारको विश्वस्तताका पहिलेका कामहरू कहाँ छन्? 50हे परमप्रभु, आफ्नो सेवकप्रति लक्षित गिल्ला र मैले जातिहरूका यति धेरै अपमानहरू म आफ्नो मनमा कसरी सहन्छु सो सम्झनुहोस् । 51हे परमप्रभु, तपाईंका शत्रहरूले अपमानको ओइरो लगाउँछन् । तिनीहरूले तपाईंको अभिषिक्त जनको पाइलाको गिल्ला गर्छन् । 52सदासर्वदा परमप्रभुलाई धन्यवाद होस् । आमेन र आमेन ।