1हे परमप्रभु, मेरो बल, म तपाईंलाई प्रेम गर्छु । 2परमप्रभु मेरो चट्टान, मेरो किल्ला हुनुहुन्छ, जसले मलाई सुरक्षामा लानुहुन्छ । उहाँ मेरो परमेश्‍वर, मेरो चट्टाना हुनुहुन्छ । उहाँमा नै म शरण लिन्‍छु । उहाँ मेरो ढाल, मेरो उद्धारको सिङ् र मेरो किल्ला हुनुहुन्छ । 3म परमप्रभुलाई पुकारा गर्छु जो प्रशंसायोग्य हुनुहुन्छ र म आफ्‍ना शत्रुहरूबाट बाँच्‍नेछु । 4मृत्युका डोरीहरूले मलाई बाँधे र व्‍यर्थका छालहरूले मलाई व्याकुल बनाए । 5चिहानका डोरीहरूले मलाई बाँधे । मृत्युको पासोले मलाई समात्‍यो । 6मेरो कष्‍टमा, मैले परमप्रभुमा पुकारा गरें । मैले सहायताको निम्ति मेरो परमेश्‍वरमा पुकारा गरें । उहाँले आफ्नो मन्दिरबाट मेरो सोर सुन्‍नुभयो । सहायताको निम्ति मेरो पुकारा उहाँको उपस्थितिमा गयो । यो उहाँको कानहरूभित्र गयो । 7तब पृथ्वी हल्लियो र काम्‍यो । पहाडहरूका जगहरू पनि कामे र हल्‍लिए किनभने परमेश्‍वर रिसाउनुभयो । 8उहाँको नाकका प्वालहरूबाट धूँवा माथि गयो र उहाँको मुखबाट बल्दो आगो निस्केर आयो । यसले कोइलाहरू बाल्‍यो । 9उहाँले स्वर्ग खोल्नुभयो, र तल आउनुभयो र उहाँको पाउमुनि बाक्‍लो अध्याँरो थियो । 10उहाँ करूबमा चढ्नुभयो र उड्नुभयो । हावाको पखेटाहरूमा उहाँ सवार हुनुभयो । 11अन्धकार र आकाशको बाक्‍लो बादललाई उहाँले आफ्‍नो वरिपरिको पाल बनाउनुभयो । 12उहाँको सामु बिजुलीबाट असिना र आगोका भुङ्ग्रोहरू झरे । 13परमप्रभु स्वर्गबाट गर्जनुभयो । सर्वोच्‍चको आवाजले कराउनुयो । 14उहाँले आफ्ना वाणहरू प्रहार गर्नुभयो र आफ्‍ना शत्रुहरूलाई तितरबितर पार्नुभयो । धेरै चट्याङहरूले तिनीहरूलाई तितरबितर पारे । 15तब पानीका धारहरू देखा परे । हे परमप्रभु, तपाईंको हप्‍की र तपाईंको नाकको प्वालहरूका सासको विष्फोटले संसारका जगहरू उदाङ्गो पारिए । 16उहाँले माथिबाट हात पसार्नुभयो । उहाँले मलाई समात्‍नुभयो । उहाँले मलाई उर्लंदो पानीबाट बाहिर निकाल्नुभयो । 17मेरो बलियो शत्रुबाट, मलाई घृणा गर्नेहरूबाट उहाँले मलाई बचाउनुभयो, किनकि तिनीहरू मेरो निम्ति अति बलिया थिए । 18मेरो कष्‍टको दिनमा तिनीहरू मेरो विरुद्ध आए तर परमप्रभु नै मेरो सहारा हुनुभयो । 19उहाँले मलाई फराकिलो ठाउँमा स्‍वतन्‍त्र राख्‍नुभयो । उहाँले मलाई बचाउनुभयो किनभने उहाँ मसँग खुसी हुनुभयो । 20मेरो धार्मिकताको कारणले परमप्रभुले मलाई इनाम दिनुभएको छ । उहाँले मलाई पुनर्स्थापना गर्नुभएको छ किनभने मेरा हातहरू शुद्ध थिए । 21किनकि मैले परमप्रभुका मार्गहरू मैले पालन गरेको छु र मेरो परमेश्‍वरबाट दुष्‍टतासाथ फर्केको छैन । 22किनकि उहाँका सबै धार्मिक आदेशहरू मेरो सामु छन् । उहाँको नियमहरूको बारेमा, तिबाट म भड्केको छैन । 23उहाँको सामु म निर्दोष भएको छु र मैले आफूलाई पापबाट अलग राखेको छु । 24यसकारण मेरो धार्मिकताको कारणले परमप्रभुले मलाई पुनर्स्थापना गर्नुभएको छ, किनभने मेरा हातहरू उहाँको आँखाका समु शुद्ध थिए । 25कुनै पनि विश्‍वासीलाई तपाईं आफै विश्‍वासयोग्य प्रकट गर्नुहुन्छ । निर्दोष मानिसलाई तपाईं आफै निर्दोष प्रकट गर्नुहुन्छ । 26कुनै पनि शुद्ध व्‍यक्‍तिलाई तपाईं आफै शुद्ध प्रकट गर्नुहुन्छ । तर कुनै पनि बाङ्गो व्‍यक्‍तिलाई तपाईं आफै चलाख प्रकट गर्नुहुन्छ । 27किनकि तपाईंले कष्‍टमा परेकाहरूलाई बचाउनुहुन्छ तर घमण्डी, अहङ्कारी आँखालाई तपाईंले तल झार्नुहुन्छ । 28तपाईंले मेरो बत्तिलाई प्रकाश दिनुहुन्छ । परमप्रभु मेरा परमेश्‍वरले मेरो अन्धकारलाई उज्यालो पार्नुहुन्छ । 29किनकि तपाईंद्वारा नै म बाधालाई नाघ्‍न सक्छु । मेरा परमेश्‍वरद्वारा नै म पर्खाल नाध्‍न सक्छु । 30परमेश्‍वरको बारेमा, उहाँको मार्ग सिद्ध छ । परमप्रभुको वचन शुद्ध छ । उहाँमा शरण लिने हरेकको निम्ति उहाँ ढाल हुनुहुन्छ । 31किनकि परमप्रभुबाहेक को परमेश्‍वर छ र? हाम्रा परमेश्‍वरबाहेक को चट्टान छ र? 32कम्मर पेटीझैं परमेश्‍वरले नै मलाई बल दिनुहुन्छ, जसले निर्दोष व्‍यक्‍तिलाई आफ्नो मार्गमा राख्‍नुहुन्छ । 33उहाँले मेरा खुट्टाहरूलाई हरिणको जस्तै तेज बनाउनुहुन्छ र मलाई उच्‍च ठाउँहरूमा राख्‍नुहुन्छ । 34युद्धको निम्ति उहाँले मेरा हातहरूलाई तालिम दिनुहुन्छ र मेरा पाखुराहरूले काँसाको धनु झुकाउँछन् । 35तपाईंले मलाई आफ्‍नो उद्धारको ढाल दिनुभएको छ । तपाईंको दाहिने हातले मलाई सहायता गरेको छ र तपाईंको कृपाले मलाई महान् बनाएको छ । 36तपाईंले मेरो तल मेरो खुट्टाहरूलाई ठाउँ फराकिलो पार्नुभएको छ ताकि मेरा खुट्टाहरू चिप्‍लेका छैनन् । 37मैले आफ्‍ना शत्रुहरूलाई खेदें र तिनीहरूलाई समातें । तिनीहरू नाश नभएसम्म म फर्किनँ । 38मैले तिनीहरूलाई टुक्रा-टुक्रा पारें ताकि तिनीहरू उठ्न सकेनन् । तिनीहरू मेरा खुट्टाहरूमुनि ढलेका छन् । 39किनकि युद्धको निम्‍ति कम्मर पेटीझैं तपाईंले मलाई बल दिनुभयो । मेरो विरुद्ध उठ्नेहरूलाई तपाईंले मेरो अधीनमा पार्नुभयो । 40मेरा शत्रुहरूका गर्दन तपाईंले मलाई दिनुभयो । मलाई घृणा गर्नेहरूलाई मैले निर्मूल पारें । 41तिनीहरूले सहायताको निम्ति पुकारा गरे, तर कसैले तिनीहरूलाई बचाएन । तिनीहरूले परमप्रभुलाई पुकारा गरे, तर उहाँले तिनीहरूलाई जवाफ दिनुभएन । 42हावाको सामु धूलोझैं मैले तिनीहरूलाई चकनाचूर पारें । गल्‍लीमा हिलोझैं मैले तिनीहरूलाई फालें । 43मानिसहरूका विवादबाट तपाईंले मलाई बचाउनुभयो । तपाईंले मलाई जातिहरूमाथि शिर तुल्याउनुभएको छ । मैले नचिनेका मानिसहरूले मेरो सेवा गर्छन् । 44तिनीहरूले मेरा कुरा सुन्‍ने बित्तिकै, तिनीहरूले मेरा आज्ञा पालन गरे । विदेशीहरू मेरो सामु झुक्‍न बाध्य भए । 45विदेशीहरू आफ्‍ना किल्लाहरूबाट थरथर कम्दै बाहिर आए । 46परमप्रभु जीवित हुनुहुन्छ । मेरो चट्टानको प्रशंसा होस् । मेरो उद्धारका परमेश्‍वरलाई उच्‍च पारियोस् । 47मेरो निम्ति बदला लिनुहुने परमेश्‍वर उहाँ नै हुनुहुन्छ, जसले जातिहरूलाई मेरो वशमा पार्नुहुन्छ । 48मेरा शत्रहरूबाट म मुक्‍त पारिएको छु । वास्तवमा, मेरो विरुद्ध उठ्नेहरूभन्दा माथि तपाईंले मलाई उठाउनुभयो । हिंस्रक मानिसहरूबाट तपाईंले मलाई बचाउनुभयो । 49यसकारण, हे परमप्रभु, म तपाईंलाई जातिहरूको माझमा धन्यवाद दिनेछु । तपाईंको नाउँमा प्रशंसा म गाउनेछु । 50परमेश्‍वरले आफ्नो राजालाई महान् विजय दिनुहुन्छ र उहाँले आफ्नो करारको विश्‍वस्‍तता आफ्नो अभिषिक्‍त जन, दाऊद र तिनका सन्तानहरूलाई सदासर्वदा प्रकट गर्नुहुन्छ ।